काठमाडौं । माई खोला हाइड्रोपावरको आइपीओ मंगलबार (वैशाख १९ गते) बाँडफाँट हुने भएको छ ।
यसमा १३ लाख ३१ हजार २३८ जनाले कुल १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १ लाख २६ हजार ९४१ जनाले मात्र सेयर हात पार्नेछन् ।
बाँकी १२ लाख ४ हजार २९७ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ११.६६ गुणा बढी आवेदन हो ।
यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । कम्पनीले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको थियो ।