नवजात शिशु बेपत्तामा संलग्न भोजपुरका राईसहित ६ जना पक्राउ

न्युजलय ६ भदौ २०८०, बुधबार ११:५६ मा प्रकाशित

 विराटनगर । विराटनगर–९ ग्रिनक्रस अस्पतालबाट असार १४ गते नवजात शिशुलाई बेपत्ता पार्नमा संलग्नताको आरोपमा डा. तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले कटहरी–२ स्थित दिलमाया राजबंशीको साथबाट नवजात शिशुको उद्धार गर्दै रकम लेनदेनमा शिशु बेपत्ता बनाउने थप ४ जनालाई मंगलबार नियन्त्रणमा लिएको हो।

यसअगाडि असार १ गते अस्पतालका चिकित्सक डा तपेश्वरलाल कर्ण र गोविन्द राईलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट थप ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो।

मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएका आरोपीहरुलाई सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई, विराटनगर–२ घर भई दिपेश मेडिकल हलका सञ्चालक ६८ वर्षीय डा तपेश्वरलाल कर्ण, विराटनगर–९ ग्रिनक्रस अस्पतालमा कार्यरत कर्मचारी सुधा राजबंशी, कटहरी गाउँपालिका–२ निवासी ४६ वर्षीया दिलमाया राजबंशी, ३० वर्षीय सूर्यनारायण राजबंशी, सिराहा कल्याणपुर नगरपालिका(१२ का ३८ निर्मला यादव छन्।