सरकारको सिफारिस मैले इन्कार गर्न मिल्दैनः राष्ट्रपति पौडेल

न्युजलय १५ असोज २०८०, सोमबार ०८:०२ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई इन्कार गर्न नसक्ने बताएका छन् । 


राजनीतिक आडमा आममाफीको गलत प्रयोग भएको भन्दै ध्यानाकर्षणका लागि पुगेका रवि लामिछाने नेतृत्वको रास्वपा टोलीलाई राष्ट्रपति पौडेलले यस्तो संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका हुन् । 


संसदीय व्यवस्थाको मान्यताअनुसार मन्त्रिपरिषदले गरेको निर्णयको जस अपसजको भागी सरकार नै हुने भएकोले सरकारलाई नै प्रश्न गर्न राष्ट्रपति पौडेल आग्रह छ । उनले संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको स्मरण गराए ।


रास्वपा सभापति लामिछानेले अभिभावकको हैसियतले राष्ट्रपतिसमक्ष सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्न आएको बताए । मुलुककै अभिभावक भएको नाताले राष्ट्रपतिसँग सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्नु आफूहरूको हक भएको उनको भनाइ थियो ।