काठमाडौं । काठमाडौँ महानगरपालिकाले टाइफाइडको खोप लगाउन छुटेका बालबालिकालाई यही वैशाख ९ गते खोप लगाउने जनाएको छ।
सरकारले गत चैत २५ देखि यही वैशाख १८ गतेसम्म खोप लगाउने तालिका सार्वजनिक गरेको भए पनि अहिले विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गर्ने समय भएकाले यसअघि छुटेकालाई वैशाख ९ गते खोप लगाउन लागिएको हो। कामपा सहरी स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार धेरै बालबालिकाले खोप लगाइसकेका छन्। छुटेका केहीलाई वैशाख ९ गते प्रत्येक वडा क्लिनिकबाट खोप लगाउने कार्यक्रम छ।
यसअघि छुटेकालाई वैशाख ९ गते र त्यसपछि पनि लक्षित समूहमा कोही छुटे भने सरकारले तोकेको नियमित खोप लगाउने खोप केन्द्रमा गएर लगाउनुपर्ने प्रमुख त्रिपाठीले बताए।
राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमका रूपमा लिइएको छ। हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउनसक्ने विश्वास सरकारको छ। नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनुका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँच कारणभित्र यसलाई लिइएको छ।