उखुबारीमा भेटिएका दुवै शवको पहिचान खुल्यो

न्युजलय १६ माघ २०७८, आइतबार ०६:३१ मा प्रकाशित

विराटनगर । केही दिनअघि उखुबारीमा गाडिएको अवस्थामा फेला परेका दुवै शवको पहिचान खुलेको छ ।

मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाडलमा गाडिएका ती दुई व्यक्ति एक अर्काका साथी रहेको खुलेको हो । तर उनीहरूको हत्या कसले र के कारणले गरेको हो भन्ने खुल्न सकेको छैन ।

बिहीबार एक शवको पहिचान खुलेको थियो । धरान उपमहानगरपालिका– ३ घर भई पछिल्लो समय भक्तपुरमा बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ रहेको उनको उक्त मृतकको साथमा रहेको कागजातबाट खुल्न आएको थियो । तर अर्का मृतकको पहिचान भने आइतबार(आज) मात्र खुलेको हो ।

अर्को भेटिएको शव भने सप्तरीको शम्भुनाथ नगरपालिका– ४ घर भई पछिल्लो समय काठमाडौँमा बस्ने गरेका शम्भु चौधरीको रहेको खुलेको हो । मृतकको शारीरिक बनावट तथा घटनास्थलमा भेटिएका लत्ता–कपडाको मृतकका आफन्तले उक्त शवको पहिचान गरेका हुन् ।

दुवै मृतक साथी रहेको र एकै समयमा सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । उनीहरु दुवैजना जग्गा कारोबारमा संलग्न रहेको खुल्न आएको छ । कुनै लेनदेनमा विवाद भएर उनीहरुको एकैसाथ हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।