विवेकशील साझाले प्रदेश सांसदसहित २६ जनालाई केन्द्रीय सदस्यबाट हटायो

न्युजलय २ चैत २०७८, बुधबार ०५:३५ मा प्रकाशित

काठमाडौँ ।  विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सचिवालय सदस्यसहित २६ जनालाई केन्द्रीय सदस्यबाट हटाएका छन् ।

फागुन २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वाग्मती प्रदेश सांसदसमेत रहेका केशव दाहाल, रमेश पौड्याल, पुकार बमलगायत २६ जनालाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो । 

चारवटा केन्द्रीय समितिका बैठकमा लगातार अनुपस्थित रहेको र लेभी नबुझाएको भन्दै उनीहरूलाई केन्द्रीय समितिभन्दा बाहिरको जिम्मेवारी दिने निर्णय गरिएको मिश्रले जानकारी दिएका छन् ।

त्यस्तै समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्‍याएको पनि मिश्रको निष्कर्ष रहेको छ । विवेशकशील साझा पार्टीबाट वाग्मती प्रदेशमा ३ जना सांसद रहेका छन् ।