यलुङ–री हिमपहिरोमा बेपत्ता भएका ५ जनाको शव भेटियो

न्युजलय २५ साउन २०८३, सोमबार १२:१६ मा प्रकाशित

काभ्रेपलाञ्चोक। दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका ५ जनाको शव भेटिएको छ ।

भेटिएका शव गत वर्षको कात्तिक १७ गते यलुङ–री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएकाहरू भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

स्थानीयले पाँचवटा शव देखिएको जानकारी दिएपछि ड्रिम डेस्टिनेसनले शव सङ्कलन र पहिचानका लागि शुक्रबार यलुङ–री हिमाल क्षेत्रमा हेलिकोप्टर पठाएको थियो । तर, मौसम खराब भएका कारण सोमबार हेलिकोप्टर घटनास्थलसम्म पुगेर तीनवटा शव गोंगर भन्ने स्थानमा ल्याइसकेको र २ वटा शव लिन पुनः हेलिकोप्टर घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ  । मौसम सुधार भए आज नै पाँच वटा शव गोंगर ल्याईनेछ ।

गत वर्ष विभिन्न समूहमा नेपाली तथा विदेशी गरी १५ जना आरोहणका लागि पाँच हजार ६३० मिटर उचाइमा रहेको यलुङ–री हिमालतर्फ गएका थिए । हिमपहिरोमा परेका आठ जनाको सकुशल उद्धार भएको थियो भने आरोहणका क्रममा सात जना हिमपहिरोमा परी बेपत्ता भएका थिए ।

बेपत्ता मध्ये दुई जनाको शव त्यतिबेलै भेटिए पनि पाँच जनाको शव भने भेटिएको थिएन ।