इटहरी । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने निश्चित नरहेको नेकपा एकीकृत समाजवादी प्रदेश १ का अध्यक्ष बलदेव चौधरीले बताएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाका मेयरसमेत रहेका चौधरीले एस एक्लै पनि निर्वाचनमा जान सक्ने संकेत गरेका छन् ।
त्यसको लागि पार्टीले आन्तरिक तयारी गरिरहेको उनले जानकारी दिएका छन् । ‘यो हुन पनि सक्छ नहुन पनि सक्छ’, अध्यक्ष चौधरीले भने, ‘हामी क्लियर छौँ गठबन्धन भए पनि नभए पनि हामीलाई ठिकै छ । हामीले आफ्नो हिसाबको तयारी नै गरिरहेका छौँ ।’
तर पार्टी बीच राष्ट्रिय स्तरमा सहमति भएर स्थानीय तहमा गठबन्धन गर्ने निधो भए त्यसमा पनि आफूहरु प्रदेश स्तरको जोड घटाउमा लाग्ने उनको भनाइ छ । गठबन्धनकै कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलाउन सक्षम भएको उदृत गर्दै उनले स्थानीय स्तरमा पनि त्यो मनोभाव बोकेकाहरुलाई परास्त गर्न गठबन्धन आवश्यक रहेको बताएका छन् ।
जनताले प्रत्यक्ष विकासको आभास गरेको सरकार नै स्थानीय सरकार भएकाले यसलाई मजबुद बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । ‘आज गठबन्धन संकृतिले गर्दा प्रतिगमन सच्याउन सक्यौँ भने स्थानीय तहमा धेरै यस्ता कामहरु छन् जो मिलेर पुरा गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘स्थानीय तह बलियो भयो भने जनताको घरदैलोको समस्या समाधानका लागि प्रदेश र केन्द्र ताक्नु पर्दैन । त्यसले आज स्थानीय तहमा गठबन्धनको आवश्यकता छ ।’
गठबन्धन नहुने भए पनि एसले आफ्नै तरिकाले चुनाव लड्न पनि तयार रहेको उनको भनाइ छ । साथै नेकपा एमालेको हारको लहर सुरु भएको उनले बताए । एमालेलाई जनताले पत्याउन छोडेको कुराको पुष्टि राष्ट्रिय सभाको निर्वाचनबाट नै प्रष्ट भएको उनको धारणा छ । स्थानीय तहको उमेदवार बन्ने मान्छे पनि एमालेसँग नरहेको भनाइ छ । ‘उहाँहरु ऋतालिसेको अवस्था उहाँहरु चुनाव हार्दैहुनुहुन्छ’, अध्यक्ष चौधरीले भने, ‘भोलि उमेदवार पनि हुनुहुन्न् । उहाँहरु नयाँ मान्छे खोज्दै हुनुहुन्छ । प्रदेश १ का धेरै मेयरहरुसँग मेरो चिनजान छ । अब हारिने भयो । केपी ओलीले खत्तम गर्यो । बरु हामी तपाइँहरुसँग आउँछौँ भनिरहनु भएको छ ।’ गठबन्धन विना एस एक्लै चुनावी मैदानमा उत्रिए पनि प्रदेश १ का ५० प्रतिशत् ठाउँमा जित हाँसिल गर्ने उनको दाबी छ ।