मोरङमा शौचालयको हजमा डुबेर नाबालकको मृत्यु

न्युजलय २८ माघ २०७८, शुक्रबार ०५:४६ मा प्रकाशित

मोरङ । मोरङको सुनवर्षीस्थित बीपी आधारभूत विद्यालयको हजमा डुबेर एक नाबालकको मृत्यु भएको छ।

सुनवर्षी नगरपालिका–९ स्थित भेडुवाथानमा रहेको विद्यालयको शौचालयको हजमा डुबेका ३ वर्षीय बालक खेम दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

प्रहरीका अनुसार बिहीबार बेलुका सोही स्थानका सन्तोषकुमार दासका छोरा आमा जमुनादेवी दासलाई पछ्याउँदै जाने क्रममा हजमा खसेका थिए। विद्यालय परिसरको शौचालयको हज माथिबाट नछोपिएकाले बालक खसेर डुबेको बुबा सन्तोषले बताए।

सन्तोष विद्यालय बाहिर चियापसल चलाउँछन्। तारजाली र पर्खालले विद्यालय घेरिएको भए पनि बाहिरी मानिसले त्यहाँको शौचालय प्रयोग गर्न तारजाली तोडेका थिए। 

सन्तोषकी श्रीमती जमुना पनि बिहीबार बेलुका विद्यालयको शौचालय गएकी थिइन्। सोही क्रममा आमा पछ्याउँदै गएका खेम हजमा खस्न पुगेको बताइएको छ ।

प्रहरीका अनुसार आमाले आफ्नो पछिपछि छोरा आएको थाहा पाइनन्। आमा शौचालयमा पसेपछि खेम करिब पाँच फिटभन्दा गहिरो हजमा खसेका थिए।

हजमा डुबेका खेमको उद्धार गरी रंगेली अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हज नछोप्नु विद्यालयको चरम लापरबाही भएको स्थानीयले आरोप लगाएका छन्।