सोलुखुम्बुको अवरुद्ध गौरीशङ्कर र एपेक्स हाइड्रोपावरको काम सुरु

न्युजलय १९ फाल्गुण २०७८, बिहिबार ०१:५९ मा प्रकाशित

सोलुखुम्बु । सोलुुखुम्बुमा निर्माणाधीन गौरीशङ्कर र एपेक्स हाइड्रोपावरको काम आजदेखि सुरु भएको छ । महाकुलुङ र सोताङ गाउँपालिकामा बनिरहेका ती जलविद्युत्मा स्थानीय बासिन्दाले विभिन्न माग राखेर गएको बुधवारदेखि काम ठप्प पारेका थिए ।

हाइड्रोपावरले स्थानीय बासिन्दाको १७ बुँदे मागसहित अन्य मागका बारेमा आयोजनाको बोर्डसँग समन्वय गरेर १० दिनभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै काम सुरु गर्न दिने सहमति भएको छ ।

सोताङ महाकुलुङ सरोकार समितिले फागुन ११ गतेदेखि निर्माणकार्य बन्द गरेका थिए । गएको भदौदेखि आयोजनाले श्रमिकको ज्याला नदिनुका साथै सामाजिक उत्तरदायित्वको काम समेत पूरा गर्न नसकेकाले काम रोक्न बाध्य हुनुपरेको समितिको भनाई छ ।

आयोजनाले एक समूहमा काम गरेका श्रमिकलाई ७५ लाखभन्दा बढी ज्याला भुक्तानी बाँकी रहेको, आयोजनाका कारण अति जोखिममा परेका पाँच घरपरिवारलाई राहतको व्यवस्था गर्नुपर्ने, स्थानीयवासीको क्षमता अनुसार रोजगारी पाउनुपर्नेलगायतका माग सरोकार समितिले राखेको छ ।