इटहरी । जारी इटहरी रनिङ कप २०७८ को आज भएका दुई खेलमा इटहरी उपमहानगरपालिका वडा नम्बर ६ र १० विजयी भएका छन् । दिउँसो साढे २ बजे भएको पहिलो खेलमा वडा नम्बर ६ ले वडा नम्बर १४ लाई ३–० गोलअन्तरले पराजित गर्यो ।
वडा नम्बर ६ को जितमा कप्तान निकेश तामाङले दुई गोल तथा नोबल तामाङले १ गोल गरे । जितसँगै वडा नम्बर ६ क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो खेलको म्यान अफ दि म्याच वडा नम्बर १४ का रामु सरदार घोषित भए ।
यस्तै आजै भएको अर्को खेलमा वडा नम्बर १० ले वडा नम्बर १७ लाई २–१ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर १० को जितमा अनुराज चौधरी र सुदेश चौधरीले एक÷एक गोल गरे । वडा नम्बर १७ बाट राजु राई सान्त्वना गोल गरे । योसँगै वडा नम्बर १० पनि जारी इटहरी रनिङ कपको क्वाटर फाइनलमा पुगेको छ ।
यो खेलको म्यान अफ दि म्याच वडा नम्बर १७ का जयनारायण चौधरी घोषीत भए । इटहरी फुटबल क्लवको आयोजनामा शनिबारदेखि सुरु भएको रनिङ कप मंसिर २० गते सम्पन्न हुने छ । प्रतियोगितामा विजेता र उपविजेताले क्रमश नगद ५० हजार र २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । दुई उत्कृष्ट टोलिले आसन्न एन्फाको सुनसरी जिल्ला स्तरीय छनौट खेलमा इटहरी उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै सहभागि हुन पाउने छन् ।