इटहरी । इटहरी चौकमा ट्राफिक चाप बढिरहेको बेला राजमार्गबाट वाइपास गर्नमिल्ने तीन वटा पूल निर्माण भएका छन् । ती मध्ये दुइवटा पूलको पूर्वमुख्यमन्त्री भीम आर्चायले उदघाटन गरेका छन् । आर्चायले इटहरी वडा नम्वर ५ र १७ को सिमानामा रहेको सुकुमारी खोलापुल र वडा नम्वर ४ स्थित टेंग्राखोला पुल उदघाटन गरेका हुन् ।
वडा नम्वर ४ स्थित टेंग्राखोला पुलबाट सवारी साधन चौक नआई धरान तर्फ जान र सुकुमारी खोलापुल हुँदै पश्चिम जान वाइपास हुन सक्ने पुल हुन् ।
उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै आर्चायले इटहरीमा भइरहेको विकास निर्माणका कार्यको प्रशंसा समेत गरे । उनले विकास सबै दलको एजेण्डा भएकाले विकासमा राजनीति गर्न नहुने बताए । निर्वाचनका बेला प्रतिष्पर्धा भएपनि निर्माणका बेला एकता हुनुपर्नेमा जोड दिए ।
इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले इटहरीले भौतिक पूर्वाधार निर्माणमा फडको मारेको दावी गरे । उनले ४२ किलोमिटर बाहिरी चक्रपथ निर्माणका लागि उपमहानगरले ब्यापक पहल गरेको बताउँदै बाहिरी चक्रपथ चाँडै आरम्भ गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउन पूर्वमुख्यमन्त्री आर्चायलाई आग्रह गरे ।
उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरपालिकाले गत आर्थिक वर्ष भित्रमा ७० वटा पुलकल्भर्ट बनाइसकेको जानकारी दिए । केहि ठूला पूलहरु निर्माण भइरहेको बताइन् । आफूहरुको कार्यकाललाई पूर्वाधार निर्माणको स्वर्णीम काल बनाउन लागि परेको उनको भनाई छ । वुद्धिजिवि लेखनाथ घिमिरेले विकास भौतिक निर्माण सँग सँगै त्यसप्रतिको अपनत्व र प्रेम हुनुपर्नेमा जोड दिए ।
उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरे र इन्जिनियर कैलाश तिम्सिनाले पुल निर्माणको प्राविधिक र लागत पक्षको जानकारी दिए । सुकुमारी खोलापुल उदघाटन कार्यक्रम वडा नम्वर ५ का अध्यक्ष कल्याण बहादुर कार्की र टेंग्राखोला पुल उदघाटन वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भट्टराईको अध्यक्षतामा भएको हो ।