सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरिएको छ । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीले राजनीतिक दल बिरुद्ध चर्का नाराबाजी समेत गरेका छन् ।
प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नगर प्रहरी वीरेन्द्रनगरका प्रहरी प्रमुख लालबहादुर सुनारसहित २० जना प्रहरी घाइते भएका छन् ।
प्रहरीका अनुसार दुईजना सर्वसाधारणसमेत घाइते छन् । प्रहरीले कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
एमसिसी संसद्बाट अनुमोदन भएको विरोधमा आठ राजनीतिक दलले सोमबार गरेको नेपाल बन्दका क्रममा सुर्खेत तनावग्रस्त बनेको थियो ।
बन्दकर्ताले सोमबार बेलुका ७ बजेतिर वीरेन्द्रनगर–६ गोदामलाइनमा रहेका कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको कार्यालयमा तोडफोड तथा आगजनी गर्न खोजेका थिए ।
आन्दोलनकारीले विभिन्न पार्टीका कार्यालय तोडफोड र आगजनीको प्रयास गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।
स्थिति नियन्त्रणमा लिन वीरेन्द्रनगर बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।