जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका १८ जना कार्यकर्ता रिहा भएका छन्।
किसानका मुद्दा उठाउँदै आन्दोलन गर्ने क्रममा पक्राउ परेका १८ जनालाई जिल्ला प्रहरी कार्यालयले मंगलबार रिहा गरेको हो।
राउतका कार्यकर्ताले सिरहामा टायर बालेर प्रदर्शनसँगै गाडी तोडफोड र आगजनीमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो। सो निषेधाज्ञा अहिले खुलाइएको छ।
निषेधाज्ञा उल्लंघन गर्दै चक्काजाम र तोडफोडमा उत्रिएका १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो। तर जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकबाट सबैलाई सम्झाई(बुझाई रिहा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए।
पक्राउ गरेका सबैलाई छोड्ने प्रशासनले निर्णय गरेपनि चक्काजाम फिर्ता लिनेबारेमा पार्टीले कुनै निर्णय नगरेको जनमतका सचिव संजय यादवले बताए।
किसानको समस्या प्रदेश २ मा मात्र नभई राष्ट्रव्यापी रूपमा रहेकाले सरकारले माग पुरा नगरुन्जेल आन्दोलन जारी रहने उनले बताए।
यी मागहरू पुरा नहुन्जेल आन्दोलन जारी रहने उनले बताए।
यही मुद्दा उठाएर पार्टीले प्रदेश २ का ६ वटा जिल्लामा चक्काजाम गर्ने घोषणा गरेको छ। सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट र बारा जिल्ला भोलि ठप्प पार्ने निर्णय भएको जनमत पार्टीका सचिव यादवले बताए।
उनका अनुसार भोलि महोत्तरी, पर्सा, मोरङ, सुनसरी, रुपन्देही, कपिलवस्तु र नवलपरासीमा मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम छ।