काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबरजस्ती करणी कसूरमा अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले बताएको छ।
प्रहरीले विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीद्वारा कप्तान लामिछानेमाथि सुक्ष्म अनुसन्धान भइरहेको जनाएको हो।
प्रहरीका अनुसार ती किशोरीले सन्दीपले भदौ ५ गते दिनभर काठमाडौँ र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौँ ल्याई सिनामंगलको एक होटलको कोठा नम्बर ३०५ मा भदौ ६ गते बिहान साढे १२ बजे बलात्कार गरेका जाहेरी दिएकी थिइन्।
उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको पनि प्रहरीले जनाएको छ।
लामिछानेविरुद्ध सोमबार प्रहरीमा उजुरी परेको थियो। उनी अहिले नेपालबाहिर छन्।