म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छुः सन्दीप लामिछाने

न्युजलय २० बैशाख २०८१, बिहिबार ०५:५१ मा प्रकाशित

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार भएको बताएका छन् ।

बुधबार टी– २० विश्वकपको नेपाली टिम घोषणा भएपछि सामाजिक सञ्जालमा सन्दीपले आफूमाथि षड्यन्त्र भएको र यसमा भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।

उनले पहिलो पोष्टमा भनेका छन्, ‘मैले लामो पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा भूमिका खेल्ने सबैलाई भगवानले साथ दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ ।’

त्यसपछि सन्दीपले अर्को पोष्ट गर्दै आफूमाथि भएको षड्यन्त्रमा संलग्न व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।

२०७९ भदौमा बलात्कारको उजुरीपछि सन्दीपलाई गत पुसमा जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद, तीन लाख जरिबाना र दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।

जिल्ला अदालतको यो निर्णयविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका छन् ।