सिद्धबाबाविरुद्ध उच्च अदालतमा दर्ता बलात्कार मुद्दाको आज सुनुवाइ हुँदै

न्युजलय २५ फाल्गुण २०७८, बुधबार ०४:३५ मा प्रकाशित

विराटनगर । सिद्धबाबा (कृष्णबहादुर गिरी) विरुद्ध उच्च अदालत विराटनगरमा परेको जबर्जजस्ती करणी मुद्दाको सुनुवाइ बुधबार(आज) हुने भएको छ। 

अदालतले आफ्नो वेबसाइटमा राखेको सूचनाअनुसार ५ नम्बर इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो। 

सिद्धबाबाका नामले परिचित चतराधाममा बस्ने कृष्णबहादुर गिरीविरुद्ध आफ्नै अनुयायी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा २०७७ चैत २६ गते मुद्दा दर्ता भएको हो। 

यसअघि सुनसरी जिल्ला अदालतले २०७७ मंसिर २२ गते उक्त मुद्दाको फैसला गर्दै करणी भएको तर सहमतिमै भएको भनेपछि पीडित २६ वर्षीया महिलाले बलात्कार नै भएको जिकिर गर्दै सिद्धबाबालाई कारबाही नै हुनुपर्ने माग राखेर उच्च अदालत (विराटनगर) मा पुनरावेदन दिएकी हुन्। 

उता प्रतिवादी गिरीले पनि जिल्ला अदालतको फैसलाले आफ्नो ब्रह्मचर्यमा प्रश्न उठाएको भन्दै सफाइको माग गरेर उच्च अदालतमै मुद्दा हालेका छन्।

उक्त घटनाविरुद्ध २०७६ पुस १० गते जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरिएकामा २०७७ मंसिर २२ गते फैसला सुनाइएको थियो। 

न्यायाधीश अर्जुनप्रसाद कोइरालाले गरेको फैसलामा सिद्धबाबाले करणी गरेको तर सहमतिमै गरेको उल्लेख छ। 

उक्त फैसलाविरुद्ध पीडित महिलाले दर्ता गराएको पुनरावेदन र स्वयं सिद्धबाबाले ब्रह्मचारीको दाबी गर्दै दिएको मुद्दालाई उच्च अदालतले दुवै मुद्दालाई एकसाथ सुनुवाइ गरिरहेको छ। आजको सुनुवाइपछि फैसला आउन सक्ने उच्च अदालत स्रोतले जनाएको छ।