यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी

न्युजलय २४ चैत २०७८, बिहिबार ०३:०५ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने अन्तिम तयारी गरेको छ । निर्वाचन आचारसंहिता लागु गर्न भइरहेको ढिलाइले गर्दा निर्वाचनलाई प्रभावित पार्ने गरी जनप्रतिनिधिबाट स्रोत र साधन दुरूपयोग भइरहेको गुनासो आइरहेको बेला आयोगले सम्भवतः तीन दिनभित्र आचारसंहिता लागु गर्ने स्पष्ट पारेको छ ।


आचारसंहिता कार्यान्वयन गराउन गृहकार्य भइरहेको जानकारी दिँदै बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता लागु गर्नुपूर्व ७७ जिल्ला निर्वाचन कार्यालय र गृह प्रशासनलाई तम्तयार राख्नुपर्ने र स्थानीय प्रशासनमा आचारसंहिता उल्लंघनको उजुरी लिने व्यवस्थापन गर्नुपर्ने आवश्यक रहेको बताए । आयोगले आचारसंहिता लागु गर्ने विषयमा मंगलबार राजनीतिक दलहरूसँग छलफल गरेको थियो । छलफलमा एमालेलगायतका केही दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेन । प्रमुख निर्वाचन थपलियाले प्रतिबद्धता पत्रमा हस्ताक्षर नगर्नेलाई पनि आचारसंहिता लाग्ने बताए ।


त्यसै गरी मिडिया र सामाजिक सञ्जालको अनुगमनका लागि २५ सदस्यीय कार्यदल बन्ने आयोगले जनाएको छ । आयोगले आचारसंहिता लागु गरिएपछि ७ सय ५३ वटै स्थानीय तहमा विभिन्न संयन्त्रमार्फत निर्वाचन अनुगमन गर्ने तयारी गरेको छ । निर्वाचन आचारसंहिता विगतभन्दा फरक, विस्तृत र धेरै क्षेत्रलाई समेटिएको पनि आयोगले जनाएको छ ।