बालकुमारी घटनामा दुई जनाको मृत्यु, ७३ जना पक्राउ

न्युजलय १४ पुस २०८०, शनिवार ०२:०६ मा प्रकाशित

काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा दुई जनाको ज्यान गएको छ । 


ज्यान गुमाउनेमा अछाम चौरपाटी गाउँपालिका १ बस्ने २१ वर्षीय वीरेन्द्र शाह र दैलेख, महावु गाउँपालिका ६ घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय सुजन रावत छन्।


वीरेन्द्रको तिघ्रामा गोली लागेको थियो। उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 


सोही स्थानमा भागदौडको क्रममा सुजन घाइते भएको प्रहरीले जनाएको छ। उनको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।


सात जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् । प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । 


कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली (इपिएस)को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरुले प्रदर्शन गरेका थिए ।


त्यसक्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको थियो ।


जिल्ला प्रहरी परिसर ललितपुरले स्थितिलाई नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको बताएको छ।