एमाले सुनसरीमा जुटेन सहमति

न्युजलय २४ पुस २०७८, शनिवार ०८:२६ मा प्रकाशित

इटहरी । शुक्रबारबाट सुरु भएको नेकपा एमाले सुनसरीको सातौँ जिल्ला अधिवेशनको नेतृत्व चयनमा सहमति जुट्न सकेको छैन् ।

इनरुवामा जारी अधिवेशनमा अध्यक्षका चारजना दावेदावर देखिएका छन् । वर्तमान अध्यक्ष खेम पोखरेल, पूर्व एमाले अध्यक्षद्वय रेवतीरमण भण्डारी र द्धारिकलाल चौधरीले पनि आकांक्षा देखाएका छन् । यस्तै नेता रामप्रसाद चौलागाईंले पनि अध्यक्षमा दावी गरेका छन् ।

नेताहरुका अनुसार अहिले चारजनाले दावी गरेपनि अन्तिम प्रतिस्पर्धामा भने भण्डारी र पोखरेल रहने सम्भावना बढी छ । आजसम्म सहमति नजुटेमा भोलिसम्ममा चुनाव हुने सम्भावना रहेको बताइएको छ ।

झन्डै २२ सय प्रतिनिधिहरु सहभागी एमाले सुनसरीको जिल्ला अधिवेशनमा चौधरी र चौलागाईले अन्तिममा पोखरेललाई समर्थन गर्ने सम्भावना रहेको नेताहरु बताउँछन ।