दुहवी नगरपालिकाद्वारा दलित र भूमिहिनको लागि आधुनिक घर निर्माण

न्युजलय २३ फाल्गुण २०७८, सोमबार ०९:१० मा प्रकाशित

विराटनगर । दुहवी नगरपालिकाले दलित र भूमिहिनको लागि आधुनिक घर निर्माण गरेको छ। 

नगरप्रमुख आवास योजना अन्तर्गत दुहवी नगरपालिकाले भूमिहीन दलित र विपन्न अल्पसंख्यक मुस्लिमलाई लक्षित गरेर आधुनिक घर निर्माण गरेको हो।

८ करोडको लागतमा एक सय १६ परिवारलाई सवै सुविधा सम्पन आधुनिक एकिकृत वस्ती निर्माण गरेर हस्तान्तरण गर्ने तयारी गरेको नगरपालिकाले जनाएको छ। दुहवी नगरपालिका–११ स्थित एकसय १६ जनालाई प्रति परिवार ७ लाख १५ हजार मुल्य बराबरको घर निर्माण गरेर हस्तान्तरण गर्न लागिएको हो।

२ विगहा क्षेत्रफलमा सुविधा सम्पन दुई वटा कोठा, भान्छा र शौचालयसहित घर निर्माण गरिको हो। एकीकृतरुपमा वस्तीको विकास गर्न नगरपालिका ९० लाखमा जग्गा किनेर ८ करोडको लागतमा घर निर्माण गरेको दुहवी नगरपालिकाले जनाएको छ ।  

वस्तीमा आधारभूत विद्यालय र प्राथमिक स्वास्थ्य केन्द्र लगायतका अति आवश्यक निर्माणको कामसमेत सुरु गर्ने योजना रहेको छ।