२०७४ को स्थानीय तह निर्वाचनः धरानको मत परिणाम यस्तो थियो

शंकर खत्री २८ फाल्गुण २०७८, शनिवार ०२:५७ मा प्रकाशित

२०७४ सालमा भएको नेपालको पहिलो स्थानीय तहको निर्वाचनमा सुनसरीमा दोस्रो चरणमा चुनाव भयो । सो निर्वाचनमा धरान उपमहानगरपालिकामा एक दर्जन उम्मेदवारले प्रमुख अर्थात् मेयर पदमा उमेदवारी दर्ता गराएर चुनावी मैदानमा होमीएका थिए । 

यो निर्वाचनमा धरानको बागडोर भने नेकपा एमालेले पायो । मेयर पदमा एमालेका तारा सुब्बा विजयी भएका थिए । तर उनको निधन भएपछि २०७६ सालमा भएको स्थानीय तहको उपनिर्वाचनबाट नेपाली काँग्रेसका तिलक राई अहिले धरानको मेयर छन् । उनि २०७४ सालको निर्वाचनमा राई सुब्बासँग पराजित भएका थिए । 

२०७४ सालमा भएको पहिलो स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा एमालेका सुब्बासहित काँग्रेसका तिलक राई, नेकपा माओबादी केन्द्रका अइन्द्र विक्रम बेघा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तारादेवी शाक्य लगायतले उमेदवारी दिएका थिए । यस्तै स्वतन्त्र रुपमासमेत केहीको उम्मेदवारी परेको थियो । स्वतन्त्र उम्मेदवार श्रीकृष्ण उदासले जम्मा एक भोट मात्र पाएका थिए ।

एक दर्जन उमेदवारमध्ये एमालेका तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएर धरानको मेयर बनेका थिए । उनका निकटतप्रतिद्धन्दी नेपाली काँग्रेसका तिलक राईले १६ हजार एक सय २ मत ल्याएका थिए । काँग्रेस उम्मेदवारलाई चार हजार ८ सय ७३ मतले पछि पार्दै एमालेका सुब्बा धरानको मेयरमा विजयी हुँदै गर्दा नेकपा माओबादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार एक सय ८० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका तारादेवी शाक्यले तीन सय ४६ मत, स्वतन्त्र उमेदवार भिम कुमार राईले एक सय ७७ मत र अर्का स्वतन्त्र उमेदवार कृष्ण नारायण श्रेष्ठले एक सय ५५ मत ल्याएका थिए भने । बाँकी स्वतन्त्रहरुले एक सय भोट कटाउन सकेनन् ।

यस्तै उपमेयरमा पनि मन्जु भण्डारीले सुनसरीका एमाले उम्मेदवारमध्ये लोकप्रिय मत पाएर चुनाव जितेकी थिइन् । उनले २१ हजार २५६ मत ल्याउँदा विपक्षी नेपाली काँग्रेसकी उम्मेदवार श्यामा रेग्मीले १४ हजार ९१७ मत ल्याएकी थिइन् ।