खोटाङका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु

न्युजलय २९ चैत २०७८, मङ्गलबार ०७:४७ मा प्रकाशित

खोटाङ । खोटाङका ५२ हजारभन्दा बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिने अभियान सुरु गरिएको छ । १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई आगामी ४ वैसाखसम्म खोप लगाइसकिने जनाइएको छ । 

टाइफाइड रोगको संक्रमण तथा यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कार्यक्रमअन्तर्गत जिल्लामा खोप अभियान थालिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा ७११ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानका क्रममा एक हजार ४४२ स्वयंसेवक तथा ७२७ खोप कार्यकर्ता परिचालन गरिएको छ ।

यस्तै, खोप लगाएकालाई कुनै समस्या देखिएमा समाधान गर्नका लागि १० जनाको टिम तयारी अवस्थामा राखिएको छ ।