प्रदेश १ मा गोलाप्रथाबाट कांग्रेसका गोपाल बस्नेत विजयी

न्युजलय १३ माघ २०७८, बिहिबार १२:४१ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ बाट अन्यतर्फ नेपाली कांग्रेसका गोपालकुमार बस्नेत गोलाप्रथाबाट विजयी भएका छन्।


बुधबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका बस्नेत र नेकपा (एमाले)का गुरुप्रसाद बरालले बराबर मत पाएका थिए। दुवैको मतभार ४ हजार ६८८ आएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। अर्का उम्मेदवार राप्रपाका अमरबहादुर विष्टले १६८ मतभार प्राप्त गरेका थिए।


दुवैले बराबर मतभार प्राप्त गरेपछि गोलाप्रथा गरिएको थियो। त्यसमा कांग्रेसका बस्नेत विजयी भएका हुन्।


त्यस्तै, अल्पसंख्यकतर्फ एमालेका सोनाम गेल्जेन शेर्पा र महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की जयन्ती राई विजयी भएकी छन्।