सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा प्रतिघण्टा चार जनाको मृत्यु

न्युजलय १३ बैशाख २०७९, मङ्गलबार १२:४३ मा प्रकाशित

काठमाडौँ । सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा प्रतिघण्टा चार जना भन्दा धेरैको मृत्यु भइरहेको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले आज एक अनुसन्धान रिपोर्ट प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो ।


प्रतिष्ठानका अनुसार नेपालमा वर्षेनी करिब ४० अर्ब क्षति भएको दाबी गरिएको छ । सन् २०२० मा मात्र चुरोट सेवनका कारण निम्तिने रोगहरूको उपचारार्थ भएको प्रत्यक्ष र अप्रत्यक्ष खर्च, रोगीहरुको उत्पादकत्वमा आएको ह्रास र असामयिक मृत्यु समेत जोड्दा ४० अर्ब रुपैयाँको आर्थिक क्षति भएको छ ।


यसमा धुवाँरहित सुर्तीजन्य पदार्थको कारणले क्षतिलाई पनि समावेश गर्ने हो भने लागत यो भन्दा वृद्धि हुन्छ । आर्थिक वर्ष २०२०र२१ मा चुरोट र बिँडीबाट संकलन भएको अन्तः शुल्कको राशि भने २०.३९ अर्ब मात्र रहेको रिपोर्ट सार्वजनिक गरिएको छ ।


नेपालमा हुने कुल मृत्युको १९.४१ प्रतिशत मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको तथ्य प्रतिष्ठानले प्रस्तुत गरेको छ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्ताको ३२ प्रतिशत रहेको र यो निकै उच्च भएको पनि भनिएको छ । सुर्तीजन्य पदार्थ सेवनकर्ताको संख्या दिनानुदिन बढ्दै गएको भन्दै यसलाई रोक्न यस्ता उत्पादनमा कर वृद्धि गर्नुपर्ने माग प्रतिष्ठानले गरेको छ ।


नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने कर विश्व स्वास्थ्य संगठनको मापदण्ड ७५ प्रतिशत भन्दा निकै कम ३८ प्रतिशत मात्रै रहेकाले आगामी बजेटमा कर वृद्धि गर्न प्रतिष्ठानले अपिल गरेको छ ।


नेपाल सुर्तीजन्य पदार्थबाट हुने मृत्युको सबैभन्दा धेरै अनुपात भएका विश्वका शीर्ष १५ प्रतिशत देशहरूमा पर्ने र २०४ देशमध्ये २९औं स्थानमा रहेको छ ।