काठमाडौं । प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना हुँदा मृतकको संख्या ८ पुगेको छ । ६ जनाको घटनास्थलमा र २ जनाको विजुवार जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा ३९ वर्षीया बसन्ती खड्का, २९ वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दि खड्का, ३९ वर्षीय बसन्त खड्का र १३ वर्षीया एलिना खड्का रहेको गौमुखी गाउँपालिका प्रमुख विष्णुकुमार गिरीले जनाए। थप एक जना मृतकको सनाखत हुन सकेको छैन।
जीपमा सवार अन्य ५ जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा रिमा जिसि, नरेश खड्का, दलबहादुर खड्का, हरि बुढामगर र सावित्रा जिसी रहेका छन्। बेहुला बेहुली दुबैजना घाइते छन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
नौ बहिनी गाउँपालिका ६ को लुङबाट बेहुली लिएर गहुमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग१ज ५०९२ नम्बरको महेन्द्रा जिप गएराती करिब १ः३० बजे सोही गाउँपालिकाको ओखरपाटामा दुर्घटना भएको हो । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।
जिप राती दुर्घटनामा परेपनि प्रशासनमा शनिबार बिहान ५ बजे मात्रै खबर आएको प्रजिअ भुसालले बताए । दुर्घटनाको खबर पाउनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगी घाइतेको उद्वार गरेको थियो ।
जिपमा १३ जना जन्ती सवार थिए । के कारणले जिप दुर्घटनामा परेको हो भन्ने पनि खुलेको छैन । गएराती यो ठाउँमा वर्षासँगै हिमपात पनि परेको थियो ।