एमालेको स्थानीय चुनाव रणनीति : जनप्रतिनिधिलाई टिकटमा प्राथमिकता

न्युजलय ३ चैत २०७८, बिहिबार ०२:१५ मा प्रकाशित

काठमाडौ । एमालेले आगामी स्थानीय तहको चुनावको टिकटमा स्थानीय जनप्रतिनिधिलाई प्राथमिकता दिने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी ओलीले ‘राम्रो काम गरेका’ प्रतिनिधिलाई निरन्तरता दिइने जानकारी दिएका छन् ।

ओलीले चुनावमा राम्रा उम्मेदवार खडा गर्नुपर्ने तथा स्थानीय तहमा राम्रो काम गरेका जनप्रतिनिधिलाई टिकटमा प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए । 

एमालेले सम्बन्धित वडा र पालिका कमिटीको सिफारिसमा वडाध्यक्ष र सदस्यको निर्णय जिल्ला कमिटीले गर्ने, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र प्रदेश कमिटीले अन्तिम निर्णय गर्ने एमाले सचिवालयले निर्णय गरिसकेको छ । महानगर र उपमहानगरको मेयर र उपमेयरको निर्णय भने जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीबाट गर्ने एमालेले निर्णय गरेको छ ।

ओलीले सांसदलाई आसन्न स्थानीय तहको चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । चुनावमा ६५–७० प्रतिशत सिट एमालेले जित्ने ओलीको दाबी थियो ।