मुख्मन्त्री राईः ‘प्रदेशको नामकरणमा किरात सभ्यतालाई प्रतिपक्षमा राख्नु जायज होइन’

न्युजलय १८ चैत २०७८, शुक्रबार ०८:०१ मा प्रकाशित

विराटनगर ।  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले  प्रदेशको नामकरण विषयमा कोसी सभ्यताको प्रतिपक्षमा किरात सभ्यतालाई राख्नु जायज नभएको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले शुक्रबार(आज) आयोजना गरेको प्रदेशस्तरीय बृहद् वाङ्मय सङ्गोष्ठीमा उनले कोसी सभ्यतामाथि प्रश्न उठाएका हुन् ।

मुख्यमन्त्री राईले भने, ‘पहिले पानीका लागि नदीको छेउमा मानवको बसोबास भएर सभ्यताको विकास भएको हो तर कोसी नदी छेउमा कही घना बस्ती भएको प्रमाण छैन ।’

सभ्यता नदी र पानीले नभइ मानिसले बनाउने पनि उनले बताए । ‘प्रदेशको नामकरणमा अनुसन्धानबिना नै किरात सभ्यतालाई प्रतिपक्षमा राखेर अर्को सभ्यता खडा गर्नु कति जायज हो,? राईले भने, ‘त्यसैले यी विषयमा गहण छलफल हुनुपर्छ ।’

राज्यको गल्ती र विभेदले कुनै पनि भाषा र संस्कृति हराउने र लोप हुन नदिने उनले प्रतिबद्धता जनाए । राज्यले कुनै भाषा र संस्कृतिलाई काखा र कुनैलाई पाखा लगाउन नहुने राईको भनाइ थियो ।