उदयपुरमा ट्युसन पढ्न गएकी एक बालिकाको हत्या

न्युजलय २२ चैत २०७८, मङ्गलबार ०६:०५ मा प्रकाशित

उदयपुर । उदयपुरमा एक बालिकाको हत्या भएको छ। 

बेलका नगरपालिका–३ बुद्धचौकीकी १५ वर्षीया बालिका कविता सुनवारको जशोधा खोलामा हत्या भएको हो।

बिहान साँढे ४ बजे घरबाट ट्युसन पढ्न निस्किएकी उनको शव बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए। 

घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको पुष्टि गरिसकेको छैन। 

कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका एसइइको परीक्षा नजिकिंदै गर्दा तयारीका लागि ट्युसन पढ्न सधैं बिहानै जाने गरेको परिवारका सदस्यले बताएका छन्।

मृतक बालिकाको टाउकोमा चोटपटक लागेको देखिएकाले कुटपिट गरी हत्या गरेको हुन सक्ने बताइएको छ । घटना स्थललाई प्रहरी सुरक्षा घेरामा राखेको छ।

कुकुरसहितको विशेषज्ञ टोली झिकाइएकाले प्रमाण नष्ट हुन नदिन सुरक्षा घेरामा राखिएको प्रहरीले जनाएको छ ।