मोरङ । प्रहरीले मोरङको केराबारी गाउँपालिकामा भएको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्यामा संलग्न कमल लिम्बूलाई पक्राउ गरिएको हो।
पौष २८ गतेदेखि बेपत्ता भट्टराईको शव प्रहरीले गाउँपालिकास्थित चारकोशे झाडीमा कुहिएको अवस्थामा फेला पारेको थियो। गाउँपालिकामा पौष २३ गतेबाट आयोजना गरिएको मेला हेर्न घरबाट निस्किएका भट्टराई एकाएक बेपत्ता भएको परिवारका सदस्य भनाइ छ। बेपत्ता भट्टराईको शव माघ ९ गते भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यात्रुबसका सहचालक लिम्बूसँग मादकपदार्थ सेवनका क्रममा विवाद भएपछि घटना भएको थियो। सो क्रममा लिम्बूले भट्टराईलाई रडले प्रहार गरेको बताइएको छ ।
उनका अनुसार भट्टराईको हत्यापछि लिम्बूले शव बोरामा राखेर चारकोशे झाडीको भित्री भागमा रुखमुनि लुकाएका थिए। मृतक भट्टराई केराबारी–भोगटेनी–रामपुरको रुटमा चल्ने सार्वजनिक बसका सहचालक थिए।
पक्राउ परेका लिम्बूविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउने भएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।