उदयपुर । नेकपा एमाले उदयपुरले २० रुपैयाँ अभियान सुरु गरेको छ । ८औँ जिल्ला अधिवेशनलाई लक्षित गरी एमालेले संगठित सदस्य, प्रतिनिधि र जनप्रतिनिधिलाई दायित्व तोकेर खर्च व्यवस्थापन गर्न लागेको हो ।
अध्यक्ष इश्वरमणि राउतले खर्च व्यवस्थापनका लागि प्रत्येक संगठित सदस्यबाट अनिवार्य २० रुपैँया जम्मा गर्ने गरी अभियान सञ्चालन गरेको बताए ।
‘अधिवेशन भन्नसाथ खर्च जोडिन्छ, उनले भने, ‘सधै उही कार्यालय, उहीँ दातासँग माग्दा पार्टी प्रति नकारात्मक दृष्टिकोण जाने भएकाले यसपटक फरक शैली अपनाएका हौ । यसोगर्दा पार्टी कार्यकर्तालाई समेत अपनत्व महशुस हुनेछ र त्यहीँ ढंगले खर्चको व्यवस्थापन हुने उनले बताए ।
उदयपुर एमालेमा ८ हजार ४४५ जना संगठित सदस्य छन् । संगठित सदस्यबाट मात्र १ लाख ६८ हजार ९०० रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।
त्यसैगरी अधिवेशनमा जिल्लाभरबाट ७ सय प्रतिनिधि सहभागि हुँदैछन् । प्रत्येक प्रतिनिधिलाई १ हजार दायित्व तोकिएको छ । यसबाट ७ लाख रुपैँया जम्मा हुने अध्यक्ष राउतले बताए ।
यसका अलवा पार्टीबाट निर्वाचित भएका सबै जनप्रतिनिधिलाई एक महिनाको सुविधा उपलब्ध गराउने गरी जिल्ला कमिटीको निर्णय भएको उनले बताए ।
जिल्लामा तीन जना प्रदेश सांसद, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख २ जना, नगरपालिकाका मेयर र उपमेयर २,२ गरी ४ जना, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २,३ गरी ५ जना रहेका छन् ।
त्यसैगरी ८ वटा स्थानीय तहमा ७५ वटा वडा रहेको उदयपुरमा १६९ जना एमालेका जनप्रतिनिधि रहेका छन् । त्यसमध्ये २६ जना वडाध्यक्ष रहेका छन् ।
सबैसँग एक महिनाको सुबिधा माग गरिएको अध्यक्ष राउतले बताए । सदरमुकाम गाईघाटमा पुस २३ देखि २५ गतेसम्म तीन दिन चल्ने अधिवेशनमा ८ देखि १० लाख रुपैँया खर्च हुने अनुमान गरिएको उनले बताए ।