चार जिल्लामा असोज १७ र १८ गते १६ घण्टा विद्युत आपूर्ति बन्द हुने

न्युजलय १४ असोज २०८३, बुधबार ११:५३ मा प्रकाशित

विराटनगर । प्रशारण लाइनमा गर्नुपर्ने प्राविधिक कामका कारण कोशी प्रदेशका चार जिल्लामा दुई दिन १६ घण्टा विद्युत सेवा बन्द हुने भएको छ । 

दुहबी–दमक १३२ केभी प्रसारण लाइनमा ‘लूप इन लूप आउट’ (एलआईएलओ) कार्य गरिने भएसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङ १७ र १८ गते दैनिक आठ – आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको हो । नेपाल विद्युत् प्राधिकरणले प्रसारण प्रणालीमा महत्वपूर्ण प्राविधिक काम हुने जनाएको छ ।

प्राधिकरणको केरौन १३२–३३ केभी सबस्टेशन आयोजनाले उक्त प्राविधिक कामका लागि प्रसारण लाइन बन्द गर्नुपर्ने अवस्था आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार पहिलो दिन २०८३ असोज १७ गते शनिबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म र दोस्रो दिन असोज १८ गते आइतबार पनि सोही समयमा विद्युत अवरुद्ध हुने जनाएको छ । 

प्राधिकरणकाअनुसार झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा विद्युत पूर्णरूपमा अबरुद्ध हुनेछ । यसको प्रभाव मोरङ उर्लाबारी, पथरी तथा आसपासका क्षेत्रमा समेत पर्ने जनाइएको छ । सोही समयमा ती क्षेत्रमा समेत दुबै दिन विद्युत आपूर्ति बन्द हुने उच्च सम्भावना रहेको प्राविधिकरणले जनाएको छ ।