नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ

न्युजलय १५ पुस २०८१, सोमबार ०५:०७ मा प्रकाशित

खोटाङ । नाबालिकासँग विवाह गर्ने युवकसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ ।

आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो ।

यही पुस ८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस १२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध बालविवासम्बन्धी कसूर अन्तर्गतको मुद्दा चलाइएको छ ।

बालविवाहसम्बन्धी घटना भएको जानकारी पाएपछि फरक–फरक समय तथा ठाउँबाट पक्राउ परेका उनीहरु दुवैजनालाई प्रहरी हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

कक्षा–८ मा अध्ययनरत बालिकालाई युवकको घरबाट उद्धार गरेर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।