आज अप्रिल फुल, झुक्किनुहोला नि

न्युजलय १९ चैत २०८०, सोमबार १२:२६ मा प्रकाशित

काठमाडौँ । संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन् । यो आजको दिनको विशेषता नै हो ।


किम्बदन्तीअनुसार प्राचीन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । १५८२ मा पोप ग्रेगोरी तेह्रौँले १ जनवरीलाई नयाँ वर्ष मान्ने गरी नयाँ क्यालेन्डर जारी गरे । रोमका कतिपय मानिसले यस नयाँ क्यालेन्डर अपनाए ।


तर कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरू १ अप्रिललाई नै नयाँ वर्ष मनाउँथे । त्यसैले यस्ता मानिसलाई मूर्ख सम्झिएर अन्यले मजाक उडाए । 


यस्तै अर्को किंवदन्तीअनुसार पहिलेको क्यालेण्डरमा अप्रिल महिना देखि नयाँ वर्ष सुरु हुन्थ्यो तर पछि क्यालेण्डरमा संशोधन गरी जनवरी देखि नयाँ वर्ष सुरु गरियो । यो संशोधनलाई सबैभन्दा पहिले फ्रान्सले अपनायो । सन् १५६४ मा फ्रान्सका तत्कालीन राजा चार्ल्स नवौँले अध्यादेश जारी गरी पहिलो जनवरी देखि नयाँ वर्ष सुरु हुने घोषणा गरे ।


जनताले राजाज्ञालाई स्विकारेर पहिलो जनवरीलाई वर्षको सुरुवात मान्न थाले । तर कतिपय जनताले चाहिँ यो परिवर्तनलाई सहज रूपमा स्विकार्न सकेनन् । उनीहरूले पहिलो अप्रिललाई नै वर्षको सुरुवात मानिरहे । यिनैलाई अन्य जनताले हाँसो गरी मूर्ख भनी गिज्याउन थाले र अप्रिल एकलाई ‘मूर्खहरूको दिन’ भनी नामकरण गरे ।


यसरी पहिलो अप्रिललाई वर्षको सुरुवात मान्नेहरूलाई उनीहरूले हाँस उठ्दो, गिज्याउने खालको उपहारहरू पठाएर खिसी उडाउन थाले । तिनीहरूलाई विभिन्न तरिकाले झुक्याएर मूर्ख बनाउन थाले । त्यहीबाट नै पहिलो अप्रिलका दिन अरूलाई मूर्ख बनाउने प्रचलनको सुरुवात र विस्तार हुँदै गयो भनिन्छ ।


१९१५ मा जर्मनीको लिले हवाई अड्डामा ब्रिटिस पाइलटले बमजस्तै वस्तु फ्याँकेको विषय अप्रिल फुलको वर्णन गर्दा सधैँ चर्चामा आउँछ । यसलाई देखेर मानिसहरूबिच भागदौड नै मच्चियो, त्रस्त मानिसहरू लामो समय लुके । तर बम नपड्किएपछि उनीहरू फर्किएर आए । त्यहाँ बम होइन, एउटा फुटबल फ्याँकिएको रहेछ, जहाँ लेखिएको थियो – अप्रिल फुल ।