कोशीमा ३१२ जना प्रहरीमाथि कारबाही

न्युजलय ९ साउन २०८१, बुधबार ०५:२८ मा प्रकाशित

इटहरी । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एक डीएसपीसहित ३१२ जना प्रहरीमाथि कारबाही गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष ०८०–८१ मा प्रहरी मर्यादा विपरीत र अवाञ्छित क्रियाकलाप गर्ने एक डीएसपीसहित ३१२ जना प्रहरीलाई कारबाही गरेको जनाएको हो।

विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा मंगलबार आयोजना गरिएको आर्थिक वर्ष ०८०–८१ को वार्षिक प्रगति सार्वजनिकीकरण कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।

कार्यक्रममा कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले कोशी प्रदेश प्रहरी कार्यालयले १ वर्षको अवधिमा गरेका सफल अनुसन्धान, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएका सचेतनामूलक कार्यक्रम लगायत प्रहरीले गरेका नवीनतम कार्यहरूको विवरण प्रस्तुत गरेका थिए ।