झापाका दुई खानेपानी आयोजनालाई ३२ करोड बजेट

न्युजलय २ चैत २०८०, शुक्रबार ०८:०० मा प्रकाशित

झापा । सरकारले मेचीनगर नगरपालिकाको काँकडभिट्टा खानेपानी आयोजना र बुद्धशान्ति गाउँपालिकाको टिमाइ शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि रु ३१ करोड ८६ लाख बजेट विनियोजन गरेको छ ।

 झापा क्षेत्र नं १ को सबैभन्दा बढी जनसङ्ख्या भएको दुई वटा वडा मेचीनगर ६ काँकडभिट्टा र बुद्धशान्ति–४ शान्तिनगरमा खानेपानी सुविधा बढाउन बहुवर्षीय ठेक्का प्रक्रियाबाट कार्य सम्पन्न गर्नेगरी अर्थमन्त्रालयबाट स्रोत सुनिश्चित गरिएको उक्त क्षेत्रका सङ्घीय सांसद विश्वप्रकाश शर्माले बताए ।  

सांसद शर्माका अनुसार टिमाइ शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि रु १७ करोड ८९ लाख र काँकडभिट्टा खानेपानी आयोजनाका लागि रु १३ करोड ९७ लाख बजेट सुनिश्चित गरिएको हो । चालू आर्थिक वर्ष २०८०र८१ को चैत मसान्तसम्ममा ठेक्का प्रक्रिया सुरु भएर तीन वर्षभित्र योजना सम्पन्न हुने शर्माले जानकारी दिए ।   

दुवै आयोजनाका लागि यही फागुन २१ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट ठेक्का प्रक्रियामा जाने र बहुवर्षीय स्रोत सुनिश्चित गर्ने सहमति भएको सांसद शर्माले बताए ।