धरानस्थित आइडल स्कुलको बस दुर्घटना हुँदा ८ जना घाइते

न्युजलय ३ फाल्गुण २०७८, मङ्गलबार १२:२९ मा प्रकाशित

धरान । धरान १४ विजयपुरस्थित आइडल स्कुलको बस दुर्घटना भएको छ ।


को १ प ३३९९ नम्बरको स्कुल बस विद्यार्थी पुर्‍याउन जाने क्रममा धरान ४ को बसन्तटारमा साँझ ५ बजे दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानले जनाएको छ । 


सडकबाट अन्दाजी ३० फिट तल खसेर दुर्घटना हुँदा बस चालक धरान १४ का ३५ वर्षीय नारायण मगर, सहचालक २८ वर्षीय विर्खवहादुर तामाङ सहित ६ जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।


घाइतेहरूको विजयपुर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । विद्यार्थी पुर्‍याएर फर्किने क्रममा दुर्घटना भएको र सबैको अवस्था सामान्य रहेको आइडल स्कुलका प्रिन्सिपल सागर खडकाले जानकारी दिएका छन् ।