धरान । कोशी राजमार्गअन्तर्गत पानीपिया–सेउती खण्ड बनिसकेकै छैन । केही मिटर क्षेत्रमा अझै ग्राभेलिङ र कालोपत्रेको काम भइरहेको छ । तर निर्माणाधिन रहेकै अवस्थामा सडक भत्कन थालेको छ ।
यसबिचमा ११ ठाउँ सडक भत्किएको छ । सडक निर्माण सुस्त भएको भन्दै स्थानीयहरुले विरोध जनाउँदै आएका थिए । बल्ल बल्ल बनेर सञ्चालनमा आएको सडक बनिनसक्दै भत्किन थालेको छ ।
हालैमात्र इन्जिनियरहरुसहित, कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, रमेशकुमार बस्नेत, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेकपा (एमाले) सुनसरी सदस्य नारायण सुवेदी, नेकपा (एमाले) धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नेपाल काँग्रेस धरान नगर सभापति श्यम पोखरेल, धरान १८ नम्बर वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) तथा सञ्चारकर्मीहरुको टोलीले अनुगमन गरेको थियो ।
टोलीमा सहभागी इन्जिनियर मिथिलेश महतोका अनुसार सडकका धेरै स्थानमा प्याचिङ खाल्डो परेको छ । अलकत्रा र ढुङ्गाको धुलोको परिमाण कम भएको र तापक्रम नमिलाइएको कारण यस्ता खाडलहरु पर्ने गर्छन् ।
यति ठूलो र अरबौँको आयोजनामा सडक विभागमा मात्रै भर परेकाले गम्भिर कमजोरी भएको इन्जिनियर र विज्ञहरुको भनाई छ । इन्जिनियरहरुका अनुसार कोशी राजमार्गको सडकको मोटाईसमेत कम रहेको छ । १०० मोटाइ हुनुपर्ने सडकमा अहिले ६० एमएमको कालोपत्रे गरिएको छ । त्यसमाथि थप कालोपत्रे गरिन्छ । तर ६० एमएममै कालोपत्रे भत्किनु आश्चर्यजनक भएको बताएका छन् ।
अनुगमनका क्रममा मजदुर नेता भीमज्वाला राईले सडक डिभिजन कार्यालय विराटनगरका डिइ राजेन्द्र साहसँग कुरा गरेका थिए । शाहले प्राविधिक कमजोरी स्वीकार्दै सच्याउने प्रतिबद्धता जनाएका थिए । पानी परेको समयमा चिसो अक्स्पाल्ड पिच विछ्याइएकाले त्रुटि भएको बताउँदै उनले सुधार्ने बताए ।
प्यासिफिक हिमदुङ्गा जेबी, काठमाडौं मुख्य ठेकेदार कम्पनी रहेको भए पनि पानीपिया सेउती पुलसम्मको काम भने मल्ल कन्स्ट्रक्शनले गरिरहेको छ ।