उदयपुर । सिद्धिचरण लोकमार्गको कटारी मरुवा खण्डमा बोलेरो दुर्घटना हुँदा एक जनामा मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी बजारबाट कटारी नगरपालिका ८ मा पर्ने सिरिरे घुम्तीतर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा कटारी नगरपालिका–८ पाखाटोलका ३८ वर्षे बिक्रम रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । दुर्घटनामा गम्भिर घाइते भएका रानामगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते हुनेहरूमा कटारी नगरपालिका–८ पट्नाभज्याङकी ३० वर्षे दिलमाया मगर, १७ वर्षे मनोज खड्का, घुम्तीकै दिपक श्रेष्ठको सात वर्षे छोरा दिवश श्रेष्ठ, ४८ वर्षकी बुद्धमाया श्रेष्ठ, ३६ वर्षीय वेदकुमारी थापा मगर रहेको र घाइते सबैको उपचार कटारी अस्पतालमा भइ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बोलेरो चालक कटारी नगरपालिका–८ बस्ने २६ वर्षीय प्रेमबहादुर श्रेष्ठ तत्काल फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए ।