जनता क्याम्पसमा पूर्व विद्यार्थीहरू भेला हुँदै

न्युजलय २० असोज २०८१, आइतबार ११:०८ मा प्रकाशित

इटहरी । इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरू मंगलबार भेला हुने भएका छन् । असोज २२ गते जनता बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजले आयोजना गरेको वृहत् भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा भेला हुने भएका हुन् ।


दशैं तिहारको शुभकामना साटासाट गर्दै क्याम्पसको शैक्षिक उन्नयन तथा गुणस्तर विकासका बारेमा छलफलसमेत गर्ने समाजका अध्यक्ष मिलन त्रितालले जानकारी दिए  ।


पूर्व विद्यार्थी समाजले कार्यक्रममा बढी भन्दा बढी पूर्व विद्यार्थीहलाई उपस्थित गराउन सामाजिक सञ्जाल मार्फत प्रचार प्रसारलाई तीव्र बनाएको छ ।


पूर्व विद्यार्थीहरूलाई स्वागत गर्न जनता बहुमुखी क्याम्पस तयार रहेको क्याम्पसकी क्याम्पस प्रमुख डा. गीता अधिकारीले जानकारी दिइन् । आफू पनि पूर्व विद्यार्थी भएकाले कार्यक्रमलाई लिएर उत्साहित भएको उनले बताइन् । 


यस्तै जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले क्याम्पसको शैक्षिक विकासका लागि पूर्व विद्यार्थीहरूले चासो राख्दै कार्यक्रम आयोजना गर्नु खुसीको कुरा भएको बताए । पूर्व विद्यार्थीहरूले क्षमता अनुसार आफू पढेको क्याम्पसको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार विकास लगायतका अन्य काम गर्न सक्ने पनि उनले बताए । 


कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसक्ने पूर्व विद्यार्थीहरूलाई इन्टरनेटका माध्यमबाट जोड्न प्रयास गरेको पूर्व विद्यार्थी समाजले जनाएको छ ।