इटहरीको विकासप्रति युवा र बालबालिका असन्तुष्ट

न्युजलय ३२ जेठ २०८३, सोमबार १०:०६ मा प्रकाशित

इटहरी । इटहरीको विकासप्रति इटहरीका युवा तथा बालबालिकाहरु असन्तुष्ट देखिएका छन् । बालबालिका तथा युवाको क्षेत्रमा भइरहेका कामहरु अदुरदर्शी र अपारदर्शी रहेको गुनासो गर्दै गम्भीर प्रश्नहरु उठाएका छन् । 


युवा तथा बालबालिकाको क्षेत्रको नेतृत्वदायी संस्था लक्ष्यदीपले इटहरीस्थित सोसल क्याफेको सहयोगमा आयोजना गरेको ‘भोलिको इटहरीमा युवा र बालबालिका’ विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो अनुभव राख्दै सहभागिहरुले योजनाबद्ध काम गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । 


कार्यक्रमको सुरुवातमा हिमाल दाहालले ‘भोलिको इटहरी’ अभियानको उद्देश्य र अवधारणाबारे जानकारी गराएका थिए । त्यसपछि सहभागीहरूले इटहरीका युवा तथा बालबालिकासँग सम्बन्धित समस्या, अवसर र नीतिगत व्यवस्थाका विषयमा धारणा राखेका थिए ।


कार्यक्रममा बोल्दै सहभागिहरुले बालबालिका, युवाका समस्यादेखि विकास निर्माणका गुणस्तर र शहरी व्यवस्थापनका विभिन्न विषयमा समस्या र समाधानका उपायहरुबारे विचार राखेका थिए ।


कार्यक्रममा बोल्दै नगर सञ्जाल इटहरीकाका अध्यक्ष प्रयास घिमिरेले इटहरीमा सडक बालबालिकाको समस्या रहेकोले विशेष ध्यान दिनुपर्ने बताए ।


अमृत रिजालले इटहरीमा सडक बालबालिका र लागूऔषधको समस्या गम्भीर रहेको बताए । युवा तथा बालबालिकासम्बन्धी नीति निर्माण अनुसन्धान र तथ्यांकमा आधारित हुनुपर्नेमा जोड दिँदै उनले नगरस्तरीय युवा परिषद् गठन गर्नुपर्ने बताए ।


सृजना बसेलले बालविवाह, सामाजिक सञ्जालको बढ्दो प्रयोग, लागूऔषध, आर्थिक र मानसिक हिंसाका घटना चिन्ताजनक रहेको उल्लेख गर्दै यस्ता समस्याको समाधान विद्यालय तहबाटै सुरु गर्नुपर्ने धारणा राखिन् । सुवास निरौलाले शिक्षा क्षेत्रमा गम्भीर समस्या रहेको भन्दै निजी शैक्षिक संस्थाहरूलाई पालिकाका तालिम तथा कार्यक्रमहरूमा नसमेटिएको, बरु अनावश्यक दबाब दिइएको बताए । नगर युवा परिषद्को आवश्यकता औंल्याउँदै उनले पालिका दलगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरे ।


प्रशान्त निरौलाले इटहरीमा सडक बालबालिकाको समस्या उठाए । बालबालिका र युवाहरू सामाजिक गतिविधिबाट टाढिँदै गएको तथा सामाजिक सञ्जालमै सीमित हुन थालेको भन्दै उनीहरुलाई समेट्न विशेष योजना ल्याउनुपर्ने बताए । आशीस सापकोटाले पछिल्लो समय घृणाको राजनीति बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । इटहरीलाई स्टार्टअपमैत्री सहर बनाउन नसकिएको बताए ।


कैलाश दाहालले इटहरीमा ‘आइडिया पिचिङ बैंक’ स्थापना गर्ने अवधारणा अघि सार्दै युवाका सिर्जनात्मक सोच र नवप्रवर्तनलाई बौद्धिक सम्पत्तिको अधिकारमार्फत सुरक्षित गर्न सके उनीहरूले आफ्नो विचारबाट नै आम्दानी गर्न सक्ने बताए । यस्तै सुरज सदाले इटहरीका पछाडि परेका वडाहरूमा शिशु मृत्युदर, लागूऔषध, विद्यालय छाड्ने दर, घरेलु हिंसा तथा बालश्रमका समस्या गम्भीर रहेको बताए। युवाहरुलाई सीप र आम्दानीमा प्रेरित गर्न विशेष कार्यक्रम बनाउनुपर्ने धारणा राखे ।


असिम सापकोटाले इटहरीमा नगर बस सेवा सकारात्मक सुरुवात भए पनि फोहोर व्यवस्थापन प्रभावकारी हुन नसकेको उनको भनाइ थियो। संकलन गरिएको फोहोर अन्ततः खोलानालामै पुग्ने गरेको भन्दै उनले वातावरणीय व्यवस्थापनमा गम्भीर सुधार आवश्यक रहेको बताए । उनले सामुदायिक कुकुर व्यवस्थापनको विषय उठाउँदै बन्ध्याकरणपछि उपचार र संरक्षणमा पर्याप्त ध्यान नदिँदा कुकुरहरु अझै पीडामा रहेको बताए । 


संयोग कोइरालाले लागूऔषध नियन्त्रण गर्नुपर्ने, नगर बसको स्पष्ट रुट र समय तालिका सार्वजनिक गर्नुपर्ने बताए । स्थानीय सरकारमा पारदर्शिताको अभाव रहेको आरोप लगाउँदै नगर बसमा भएको लगानीबारे स्पष्ट जानकारी सार्वजनिक नगरिएको बताए। बालबालिकाका लागि छुट्याइएको बजेटसमेत प्रभावकारी रूपमा परिचालन गर्न नदिइएको उनको गुनासो थियो। विभूति काफ्लेले बालमैत्री सहर बनाउने भनेर भनेपनि बन्न नसकेको, बाल सञ्जाललाई प्रोत्साहनको अभाव भएकाले बालबालिकाको सहभागिता घट्दै गएको बताइन् । उनले निजी विद्यालयलाई समेत स्थानीय सरकारका कार्यक्रम र योजनासँग जोड्नुपर्ने आवश्यकता औंल्याइन् । 


सागर भट्टराईले इटहरी चोकलगायत बजार क्षेत्र व्यवस्थित नभएको, तरहरा क्षेत्रमा सार्वजनिक शौचालयको आवश्यकता रहेको उल्लेख गरे । उनले विद्यार्थीहरू सार्वजनिक यातायात प्रयोग गर्दा विभिन्न समस्या भोग्नुपरेको बताउँदै नगर बसको सही परिचालनको माग गरे । किसानहरुलाई माटो परिक्षणको लागि प्रोत्साहित गर्नुपर्ने र  ‘म्युनिसिपल बन्ड’ बनाउनुपर्ने धारणा राखे ।


दुर्गाराज अधिकारीले इटहरीमा करिब ३ हजार ५ सय अपांगता भएका व्यक्तिहरू रहेको उल्लेख गर्दै उनीहरूका लागि आवश्यक पूर्वाधारको अभाव रहेको बताए। विद्यालय तथा सार्वजनिक स्थलहरू अपांगतामैत्री नहुँदा दैनिक जीवनमा कठिनाइ हुने गरेको उनको भनाइ थियो।


सुषान्त भट्टराईले लागूपदार्थ दुर्व्यसन, बाल यौन दुव्र्यवहारलगायतका समस्या इटहरीमा विद्यमान रहेको बताए । बालमैत्री इटहरी निर्माणको लक्ष्य लिएर अघि बढे पनि त्यसअनुसार उपलब्धि हासिल हुन नसकेको उनले बताए। उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै दिवा खाजा कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए। 


जुनियर जेसिसकी प्रतिष्ठा पोखरेलले युवाहरूमा सडकमा छाडिएका कुकुरहरूका कारण समस्या बढिरहेको भन्दै स्थानीय सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताइन्। उनले बालबालिकामा इन्टरनेट एडिक्सन बढ्दै गएको उल्लेख गर्दै मोबाइल र टिभीको अत्यधिक प्रयोगले उनीहरूको रुचि र अध्ययनमा असर पारिरहेको बताइन्।


रिषा बजगाईँले इटहरीका खोलाहरूको गहिराइ बढ्दै गएको र पानीको बहाव दिशा परिवर्तन हुन सक्ने सम्भावना रहेकाले ठूलो विपद् आउन सक्ने चेतावनी दिइन्। उनले किसानहरूले विषादीको प्रयोगबारे पर्याप्त ज्ञान नपाएको र ‘वेटिङ पिरियड’ जस्ता कुरा पालना नगर्दा उपभोक्तामा असर परेको बताइन्। 


श्रेया भट्टराईले सडकमा मरेका कुकुरहरू समयमै नउठाइने समस्या रहेको बताइन्। व्यवस्थापन कमजोर हुँदा फोहोर भएको स्थानमा कुकुरहरूले समेत खानुपर्ने अवस्था रहेको उनको भनाइ थियो। स्थानीय सरकारले नगरभित्र कहाँ के छ भन्ने जानकारी दिने प्रणाली बनाउन आवश्यक रहेको बताउँदै बालबालिका र युवालाई खेलकुद तथा प्रतिभा विकासका अवसरमा सहभागी गराउनुपर्नेमा जोड दिइन्। 


जानुका जमरकट्टेलले लक्षयदीपको स्थापना पृष्ठभूमि उल्लेख गर्दै कक्षा ८ देखि बाल सञ्जालमा सक्रिय रहँदा समाजमा केही परिवर्तन ल्याउने प्रेरणा पाएको बताइन्। अहिले सामाजिक काम गर्न एनजीओ खोल्नुपर्ने बाध्यता रहेको प्रणाली परिवर्तन हुनुपर्ने उनको धारणा थियो। उनले सहज र व्यावहारिक संरचना आवश्यक रहेको बताइन्।


कार्यक्रममा सहभागीहरूले विद्यार्थीमाथि अनावश्यक दण्ड, चुनावी प्रचारमा बालबालिकाको प्रयोग, अत्यधिक गृहकार्य, तथा शिक्षण गुणस्तर कमजोर भएको विषयमा पनि गम्भीर चिन्ता व्यक्त गरे। कतिपय विद्यालयमा अयोग्य शिक्षकका कारण सिकाइ प्रभावकारी नभएको उनीहरूको भनाइ थियो।


कार्यक्रममा सहभागि प्रदेशसभा सदस्य मीना श्रेष्ठले उठाइएका समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता जनाइन् ।