केराबारीका बाबुरामको शव चारकोसे जंगलमा भेटियो

न्युजलय १० माघ २०७८, सोमबार ०५:४९ मा प्रकाशित

विराटनगर ।  मोरङको केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको शव सडेर दुर्गन्धित भएको अवस्थामा फेला परेको छ ।

 १२ दिनदेखि हराइरहेका भट्टराईको शव खोर्साने–केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झन्डै २ किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको रुखको जराभित्र भेटिएको हो । 

प्रहरीले भट्टराईको हत्या भएको आशंका गरेको छ ।

आफन्त र परिवारका सदस्यले हत्या गरेर शव रुखको जराभित्र लुकाएर राखिएको हुनसक्ने बताउँदै घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन्। 

भट्टराई गत पुस २७ गतेदेखि हराइरहेका थिए।

परिवारबाट सम्पर्कविहीन बनेका उनको शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएपछि घटनाको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ । 

शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको छ।

गाईवस्तु चराउन गएका केराबारी–८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा आइतबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अनुहार पनि नचिनिने गरी सडेको शवको आफन्त र परिवारका सदस्यमार्फत पहिचान भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार भट्टराई केराबारी–भोगटेनी–रामपुर चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्थे।