चार कठ्ठा जग्गामा निःसहाय बाल आश्रमको नयाँ भवन बन्ने

न्युजलय २८ पुस २०८१, आइतबार ०१:२३ मा प्रकाशित

इटहरी । इटहरीस्थित निःसहाय बाल सेवा आश्रमको नयाँ भवन बन्ने भएको छ । अहिले इटहरी ४ मा रहेको भवन साँघुरो हुँदै गएपछि इटहरी १ स्थित चार कठ्ठा जग्गामा भवन बन्न लागेको हो । 


उक्त जग्गा धरानका कर्णबहादुर श्रेष्ठ परिवारले आश्रमकी सञ्चालिका गीता गौतमलाई दिएको थियो । अहिलेको मूल्यांकनअनुसार उक्त जग्गा तीन करोड बढी पर्छ । 


यसअघि पनि पटक पटक भवन बनाउने तयारी गरिएपनि सफल हुन सकेको थिएन । यसपटक भने इटहरीका समाजसेवी व्यवशायी राजेश श्रेष्ठको अध्यक्षतामा निर्माण समिति बनाइएको छ । समितिले केही दिनभित्रै निर्माण सुरु गर्ने जनाएको छ । 


शिलान्यास कार्यक्रममा इटहरी वडा नं. १ का वडाध्यक्ष कैलाश कार्की, जग्गा दाता श्रेष्ठ दम्पत्ती र परिवारका साथै इटहरीका समाजसेवीहरुको उपस्थिती रहेको थियो ।


३९ सालमा गीता गौतमको सक्रियतामा सुरु भएको आश्रम आजका दिनसम्म पनि गौतमकै अविभावकत्व र दाताहरुको सहयोगको भरमा सञ्चालनमा छ । निःसहाय बालबालिकालाई आश्रय दिने, पढाउनेदेखि बिहे र ब्रतबन्ध गरिदिने गरिएको छ । फराकिलो ठाउँमा सञ्चालनमा आएपछि आश्रम थप व्यवस्थित हुने विश्वास गरिएको छ ।