प्रदेश १ मा आज थप १५६ जनामा कोरोना पुष्टि

न्युजलय २९ माघ २०७८, शनिवार १२:४४ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । ४२५ जनाको पीसीआर परीक्षण गर्दा ६५ र ५९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १३, झापामा १२, धनकुटामा ३, तेहृथुम र उदयपुरमा २–२, इलाम, ताप्लेजुङ र सङ्खुवासभामा १-१ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज २८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३५ महिला र १४९ पुरुष सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ९८६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।