बढ्यो अलैंचीको मूल्य

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार ०१:३५ मा प्रकाशित

झापा । लामो समयदेखि घट्दै आएको अलैंचीको मूल्यमा पछिल्लो समय सुधार आएको छ । गतवर्ष प्रतिमन २४ हजार रूपैयाँसम्म कारोबार भएको अलैंची यस पटक भने झण्डै दोब्बर मूल्यमा कारोबार भइरहेको अलैंची व्यवसायी महासंघले जनाएको छ ।


कुनै बेला प्रतिमन एक लाख २० हजारसम्ममा अलैंची कारोबार भएको थियो । त्यही समयमा ‘कालो सुन’ उपनाम पाएको अलैंचीको मूल्य निरन्तर घटेर २२ हजार रूपैयाँसम्म आएको थियो । तर, यसवर्ष क्रमशः अलैंचीको मूल्य बढिरहेको अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । 


बिहीबार झापाको बिर्तामोडमा चलनचल्तीको अलैंची प्रतिमन ४४ हजार रूपैयाँ र राम्रो दाना भएको अलैंची ४६ हजार रूपैयाँसम्ममा कारोबार भइरहेको अध्यक्ष कार्कीले जानकारी दिए । केही हप्ताअघि चलनचल्तीको प्रतिमन ४६ हजार रूपैयाँ र राम्रो दाना भएको अलैंची ४८ हजार रूपैयाँसम्म बिक्री भएको महासंघका अध्यक्ष कार्कीले बताए । 


नेपालको ४३ जिल्लामा अलैंचीको उत्पादन हुँदै आएको छ । जसमध्ये सबैभन्दा धेरै पूर्वीपहाडी जिल्लामा अलैंची उत्पादन हुन्छ ।