बिर्तामोड । राजस्व अनुसन्धान विभागले जथाभावि छापा मारेर व्यवशायीलाई निरुत्साहित बनाउन खोजेको भन्दै आन्दोलित व्यापारीका कारण बिहीबार दिनभर झापाको बिर्तामोड तनावग्रस्त रह्यो । पूर्व–पश्चिम राजमार्गको बिचमा अवरोध गरेर उनीहरुले आवागमन पनि ठप्प पारेका थिए । साँझ अबेर भएको छलफलमा राजमार्ग खुलाउने सहमती भएको छ ।
शुक्रबार छलफल गर्ने गरी आन्दोलन स्थगित गर्ने निर्णय भएको उद्योग वाणिज्य संघ बिर्तामोडले जनाएको छ ।
राजश्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयले जथाभावि छापा हानेर आतंकित बनाएको आरोप त्यहाँका व्यवशायीहरुको छ । विभागले बिहीबार दिउँसो बिर्तामोडस्थित शाह कपडा पसलमा छापा मारेर शिल गरेको थियो । पसलमा एक जना बालक मात्र भएको अवस्थामा विभागले छापा मारेको व्यवसायीहरुको आरोप थियो ।
सञ्चालक साह नभएको बेला छापा मारेर परिवारलाई हस्ताक्षर गराइ शिल गरिएको परिवारको आरोप छ ।