जन्ती बोकेको टिपर दुर्घटना, २ जनाको मृत्यु

न्युजलय ३० फाल्गुण २०७८, सोमबार ०५:४९ मा प्रकाशित

काठमाडौं । सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

दुधौली नगरपालिका–५, ठाकुरे खोलामा आइतवार साँझ टिपर अनियन्त्रित भएर पल्टिँदा उदयरपुर कटारी–२ का १९ वर्षीय दीपेन्द्र कुमार र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । 

दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्डबी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

११ जना भने सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । जन्ती बोकेको ना ३ ख ७४९० नम्बरको टिपर आइतवार साँझ दुर्घटना भएको हो । 

जन्ती बोकेको बस बिग्रिएपछि जन्तीलाई टिपरमा चढाइएको प्रहरीले जनाएको छ ।