विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–१ मा स्कुल बसले ठक्कर दिँदा बिहीबार साँझ एक जना पैदल यात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको पशुपति इङ्लिस बोर्डिङ स्कुलको बा १ क ५६०९ नम्बरको बसले उर्लाबारी–मधुमल्ला पक्की सडक खण्डमा ठक्कर दिँदा मिक्लाजुङ गाउँपालिका–३ का ५६ वर्षीय भक्तबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार दिउँसो ४ः३५ बजेतिर भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा साँझ ७ः४५ बजेतिर झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परेर शरीरका विभिन्न भागमा चोट लागेका श्रेष्ठलाई अरनिको अस्पताल उर्लाबारीमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिर्तामोड लगिएको थियो । श्रेष्ठलाई पैदल हिँडिरहेका बेला बसले ठक्कर दिएको हो ।
बस र चालक उर्लाबारी–४ का ६० वर्षीय हरिराज भट्टराईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पैदल यात्रीले अचानक बाटो काट्दा दुर्घटना भएको पत्ता लागेको छ ।