काभ्रेको ढुङ्गा खानीमा पहिरो जाँदा दुई जनाको मृत्यु, कैयौँ पुरिएको आशंका

न्युजलय १६ फाल्गुण २०७८, सोमबार ०१:१९ मा प्रकाशित

काभ्रे । ढुंगा खानीमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ। काभ्रेको बनेपा नगरपालिका–१४ स्थित आशापुरी खनिज उद्योगमा आइतबार पहिरो जाँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको हो भने कैयौँ पुरिएको आशंका गरिएको छ।


जिल्ला प्रहरी कार्यालय काभ्रेले उद्धारका लागि कार्यालयबाट प्रहरी खटिएको भएपनि मृत्यु हुनेहरुको यकिन विवरण भने आउने बाँकी रहेको जनाएको छ। प्रहरीले कैयौँ मानिस पुरिएको हुन सक्ने आशंका गरेको छ। 


जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार घाइते अवस्थामा उद्धार गरिएका २ जनाको भक्तपुरको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। उनले प्रहरी टोली उद्धारमा खटिए पनि सबै विवरण भने आइनसकेको बताए। 


डिएसपी खतिवडाले ढुङ्गा खानीमा पहिरो जाँदा स्काभेटर, टिपर लगायतमा समेत क्षति पुगेको जानकारी दिए। स्थानीय लालमान श्रेष्ठले तलबाट एक्स्काभेटर तथा डोजरले ढुंगा निकाल्दै जाँदा ओडारजस्तो बनेर पहिरो गएको बताए। 


घटनास्थलमा प्रहरीसँगै स्थानीयहरू उद्धार तथा पुरिएका सवारीसाधन निकाल्न खटिरहेका छन्।