काठमाडौँ । देशका विभिन्न स्थानमा आगलागी हुँदा लाखौँको धनमाल क्षति भएको छ ।
आगलागीबाट इलाममा १७ लाख रुपैयाँ र सुनसरीमा १० लाख रुपैयाँ गरी जम्मा २७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका–६ हटिया लाइनस्थित भारत जोगवनी घर भएको महमत सोनु अन्सारीको कपडा पसलमा विद्युत् सर्ट भई गएराति आगलागी हुँदा पसलमा रहेको सम्पूर्ण कपडा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस्तै इलामको सूर्योदय नगरपालिका–१० का कमला सुब्बाको घरमा रहेको किराना पसलमा विद्युत् सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर, पसलको सामान, भाडावर्तन, लत्ताकपडा र नगद समेत गरी करिब १७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।